ताजा समाचार

स्थानीय समाचार

नमुना बन्दै रोङको शान्ति निकेतन्

image not found
गणेश अर्याल
इलाम मसिर २४
सदन अनुसारको अलग अलग ड्रेस, कक्षा गत रुपमा मनिटर, लिडर र इकोफ्रन्डको फरक फरक कार्य बिभाजन । शान्ति निकेतन माध्यमिक बिद्यालयमा पहिलो पटक पुग्ने जो कोहीले देख्ने र थाहा पाउने यही हो ।
इलामको रोङ ३ कुटिडाँडामा रहेको सो बिद्यालयमा पछिल्लो बर्षहरुमा यसरी नै परिबर्तन आएको देख्न सकिन्छ । स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि सामुदायिक बिद्यालयहरुमा परिबर्तन आउन थालेको स्वय शिक्षकहरुले बताएका छन् । मासिक रुपमा परिक्षा लिने गरेपछि बिद्यार्थीहरुमा शैक्षिक प्रतिस्पर्धा हुने भएकाले रिजल्टमा सुधार आएको सो बिद्यालयका शिक्षक भूपाल खड्का बताउछन् । ‘बिद्यार्थीहरुले कठिन सम्झेको बिषयहरुलाई हामीले अतिरिक्त कक्षाको ब्यवस्था गरेका छौ, शिक्षक खड्काले भने– ‘ नर्सरी देखि कक्षा ५ सम्म अंग्रजी जोन बनाएपछि बालबालिकामा अग्रेजी भाषाको बिकास भएको छ’ । 
प्रेयरलाइनको गतिबिधिहरु बिद्यार्थीहरुले नै सञ्चालन गर्ने ब्यवस्था मिलाइएको छ । स्काउट कक्षा पनि भएकाले हरेक शुक्रबारको कार्यक्रम स्काउटका बिद्यार्थीहरुले सञ्चालन गर्ने स्काउट शिक्षिका लक्ष्मी राई बताउछिन् । ‘प्रत्येक दिन बिहान बिद्यार्थीहरुले कक्षागत हाजिरीजवाफ, ताजा समाचार, बिचार वा प्रेरक प्रशंग, आश्चर्य जनक कुराहरु र अघिल्लो दिनको प्रतिबेदन प्रस्तुत गर्ने गरेकाछन् ।’ शिक्षिका राइले भनिन्– ‘स्काउट मार्फत बिद्यार्थी र बिद्यार्थी मार्फत समुदायमा स्वयंसेवी भावनाको बिकास भएको छ’ ।
२०१५ सालमा स्थापना भएको सो बिद्यालयमा हाल कक्षा १२ सम्म पढाइ भएरहेको छ । गाउपालिकाको एसइइ भन्दा माथीको कक्षा अध्यापन हुने एक मात्र बिद्यालय भएकाले अव स्नातक तहको कक्षा पनि सञ्चालनको तयारी भइरहेको ब्यवस्थापन समितिका सदस्य नरबहादुर भूजेलले बताए । बातावरण मैत्री कक्षा कोठा बनाउन कक्षामा कालो पाटीको सट्टा सेतो पाटी र चकको ठाउमा मार्कर प्रयोग गरिएको छ, जसका कारण शिक्षक र बिद्यार्थी दुबैको स्वास्थ्यमा पनि हानी नहुने र खर्च पनि कम हुने गरेको अर्का शिक्षक हेमन्त आचार्य बताए । ‘कालो पाटीमा चकको अक्षर ठूलो भएकाले कालोपाटीमा अटाउनु पर्ने सामाग्री नआट्ने हुन्थ्यो’ शिक्षक आचार्यले भने,– मार्करले सेतोपाटीमा लेख्दा खर्च पनि कम हुने तथा पछिल्लो समय प्रोजेक्टरको माध्यमबाट पनि पठनपाठन सुरु भएको छ’ ।
उता बिद्यार्थीको आकर्षण भने प्रोजेक्टरको अध्यापनमा जाने गरेको छ । प्रोजेक्टरबाट अध्यापन गराउदा प्रष्ट बुझिने र चित्र र भिडियो पनि हेर्न पाइने भएकाले बुझ्न सजिलो भएको बिद्यार्थी नबिना कट्टुवाल बताउछिन् । 
बिद्यालयले हरेक क्षेत्रमा पाएको सफलतामा बिद्यार्थीको सहभागिता रहेको छ । बिद्यार्थीको सहभागितामा बिद्यालयले पाउने सफलताको लागि शिक्षकको सही निर्देशन र सल्लाह महत्वपूर्ण हुने प्रधानाध्यापक हिम्मेश्वर प्रसाद यादब बताउछन् । बिद्यालयलाई हाम्रो र राम्रो बनाउन शिक्षक अभिभावक र बिद्यार्थी सबैको साथ सहयोग आवस्यक पर्दछ । यसबर्ष बिद्यालयले स्कुल बस खरिदको प्रकृया अगाडि बढाएको छ । गाउँपालिकाबाट लागत सहभागितामा खरिद गर्नेगरी १० लाख रुपैया बजेट पनि बिनियोजन भएको छ । यस अघि सो गाउपालिकाले सरस्वती माध्यमिक बिद्यालयलाई स्कुल बस खरिद गरिदिएको थियो । निजी बिद्यालयसगँ प्रतिस्पर्धा गर्नको लागि स्थानीय सरकारले गरेको प्रयासको होस्टेमा हैसे गर्दै अभिभावक शिक्षक र बिद्यार्थीले साथ दिनु पर्ने हुन्छ । समुदायको साथ समर्थन र सहयोग पाएमा बिद्यालयले प्रगति गर्न सक्ने रहेछ भन्ने उदाहरण बनेको सो बिद्यालयको सिको गर्न अन्य बिद्यालयबाट पनि आउन थालेको बिद्यालयले जनाएको छ ।
 

फेसबूक