ताजा समाचार

साहित्य/कला

कथाः गुराँस र अश्विनीका प्रेमपत्र

अश्विनी कोइराला

प्यारी गुराँस,

 

आज दिनभरि घाम-पानीको मौसम थियो । तिम्रो घरछेऊबाटै गाडीमा विप्लवले उसको भाइको बिहेमा लिएर गयो । तिमी बांगो गरी फैलिएको बरण्डामा बसेर घाम-पानीको रमाइलो लिइरहेकी छौ भन्ने सम्झेर मन पुलकित भइरहेको थियो । ड्राइभिङ सिटको छेऊमा परिरहेको पानीबाट उठेको बाफ हटाउने विप्लवको प्रयास अनि पुछिएको सिसामा परेका पानीका थोप्लाको अटेरीपन रमाइलो लागिरहेको थियो ।

मलाई यस्तो मौसम मन पर्छ । तर, तिमीलाई पनि मलाईजस्तै घामपानी नै मन पर्छ भन्ने के ग्यारेन्टी ? पि्रय गुराँस, जब कुनै प्रेमी आफूलाई मनपर्ने कुरा आफ्नो मान्छेलाई पनि मनपर्छ भन्ने भ्रममा देखिन्छन्, मलाई बडो रमाइलो लाग्छ । मैले तिमीलाई नसोधी तिम्रो बारेमा धारणा बनाउन मिल्छ ?

यो मौसमले मलाई बाटैभरि कुत्कुती लगाइरह्यो । तिमीसँग यो प्रेमिल मौसमका विषयमा कुरा गर्न फोन निकालेको मात्रै थिएँ, विप्लवले उसको भाइको विवाहको कथा सुनाएर डिस्टर्ब गरिदियो । आखिर विप्लव पनि मजस्तै फक्कड मान्छे न ठहरियो । उसलाई अरुको बारेमा के चिन्ता, होइन र ?

डियर गुराँस, विप्लवलाई उसका परिवारले विवाह गर्न कर गर्न थालेको पनि वर्षौं बितिसक्यो । तेरो कारणले भाइले बिहे गर्न पाएन भनेर उसले धेरैको गाली पनि खायो ।
ऊ मलाई सोध्ने गथ्र्यो, ‘मेरो कारणले भाइको बिहेमा के समस्या आउँछ ? मैले बिहे गर्दिन भनेपछि खुरुक्क उसको बिहे गरे भइहाल्यो नि । के म उसको श्रीमतीलाई आँखा लगाउँछु भन्ने ठान्छ, यो समाज ?’

उसको प्रश्न सोझो र हाँस उठ्दो थियो । उसलाई म हाम्रो समाजको मोडालिटी सम्झाएर भन्ने गर्थें, ‘यो समाज विवाहको आडमा बाँचेको छ । जुन दिन समाजबाट विवाह नाम गरेको संस्कार हट्छ, समाज समाज रहँदैन । त्यही कारणले यो समाज आफ्नो संरचना भत्केला भनेर डराउँछ । तर, समाजका लागि व्यक्तिले सती जानु पर्दैन, तिमीलाई बिहे गर्न मन छैन भने नगर । म साथ दिन्छु ।’

नभन्दै उसले आफ्नो विवाहको लगन टारेरै छाड्यो । ऊ भाइको विवाहमा हुने सामाजिक पाखण्ड देखाउन चाहन्थ्यो । त्यसैले घामपानी मौसमको परवाह नगरी मलाई लिएर जाँदै थियो ।

त्यसबेलादेखि अहिलेसम्म तिमीलाई सम्झँदै छु । शायद कुरा गर्न नपाएर होला, आज फोन नगरी तिमीसँग एकान्तमा यसरी बात मार्न मन लाग्यो । आखिर कुरा गर्न दोहोरो संवाद हुनु जरुरी छ र ? हेर त, म कति रमाइलोसँग तिमीसँग कुरा गरिरहेको छु । सबै कुरा बताइरहेको छु ।

मेरी प्यारी, भव्य पार्टीमा शहरका सबैजसो मानिस आएर विप्लवको भाइ र बुहारीलाई बधाइ दिइरहेका थिए, पुष्पगुच्छा दिएर । मलाई आजै थाहा भयो, शहरमा यति धेरै पुष्पगुच्छा बन्दा रहेछन् र ती बिक्री हुँदा रहेछन् ।

ती फूल कहाँबाट आए, यत्तिका मानिसले ती फूल कहाँ पाइन्छ भनेर कसरी थाहा पाए ? सबै मानिस यसैगरी विवाहको पार्टीमा फूल बोकेर जाने बानी परेका छन् ? अहो, म मात्रै किन यस्तो छु गुराँस ?

हेर त, मैले तिमीलाई प्रेमको स्वीकृतिमा एउटा रातो गुलाब पनि दिन पाएको छैन । मैले एउटा फूलसमेत नदिँदा पनि म तिमीलाई प्रेम गर्छु भनेर कसरी विश्वास गर्छौ ? कहिलेकाहीं यो उपहार दिने संस्कारले भरिएको शहरमा मेरो रुख्खा-सुख्खा प्रेमप्रति कति अविश्वास लाग्दो हो ?

रात अबेरसम्म मैले त्यो विवाह र त्यसको पार्टीलाई ध्यान दिएर हेरें र लामो चिन्तन गरें । मानिस किन विवाह गर्छ ? किनभने, उसलाई सुरक्षा चाहिन्छ । एउटा मानिस यौनको सुरक्षा चाहन्छ । विवाह गर्दा यौन फ्री ।

कति हाँसउठ्दो कुरा । एउटा मानिस आर्थिक सुरक्षा चाहन्छ । बेरोजगार युवती पनि विवाह गर्नेबित्तिकै रोजगार युवकको आधा कमाइको मालिक हुन्छे । उसको सम्पत्तीको पनि मालिक हुन्छे । क्या मज्जा ।

मानिस सामाजिक सुरक्षा पनि चाहन्छ । एउटा मानिस एक्लै बस्न डराउँछ, उसको मनमा अनेकथरि डरलाग्दा कुरा आइरहन्छ । त्यसका लागि पनि विवाह गर्न चाहन्छ । विवाहले नयाँ नाता जोडिन्छ । यसले समाजमा उसले केही नगरीकन नयाँ धेरै मानिससँग नाता जोड्न पाउँछ ।

नयाँ अवसरहरु सिर्जना हुनपुग्छ । विवाह नयाँ व्यापारको अवसरजस्तो लाग्यो मेरी प्रिये । पूँजी, जनशक्ति, अवसर सबै सिर्जना गरिदिने । यही कारण पो मानिस प्रेम नभएकासँग पनि विवाह गर्न राजी हुँदो रहेछ ।

धनाढ्य व्यापारी आफूसरहको व्यापारीसँगै नाता गाँस्न चाहन्छ । सेनाको मानिस सेनाको परिवारसँग, राजनीतिको मानिस राजनीतिक फाइदाका लागि आफ्ना सन्तानको बिहे गर्न चाहन्छ । गरिब मानिस आफ्नी छोरीको विवाह अलिकति खान पुग्ने घरमा गरिदिन चाहन्छ ।

हत्तेरी, अहिलेसम्म म विवाह थोरै भए पनि प्रेम भएका मानिसबीच हुन्छ भन्ने ठान्थें । तर, आज मैले जुन दृष्य देखें, त्यहाँ प्रेमको नाताबाहेक सबैथोक जोडिएको थियो ।

मेरी पि्रये, कतै कतै प्रेम गर्नेहरुबीच विवाह नहुने होइन तर त्यो विवाह पनि प्रेमका कारण होइन, प्रेम छुट्ने डरले हुँदो रहेछ । जब प्रेमभित्र ‘डर’ शब्दको प्रवेश हुन्छ, त्यहाँ प्रेम होइन, डर मात्रै बाँकी रहन्छ ।

स्वतन्त्र उडिरहेको ‘प्रेम’ नामको चरोलाई मानिस किन ‘विवाह’ नामको पिँजडामा कैद गर्न चाहन्छन् । मेरी प्यारी, आजको विवाहको पार्टीलाई हार्दिक धन्यवाद । विप्लवको निमन्त्रणलाई हार्दिक धन्यावद ।

मेरी प्यारी, म मेरो प्रेमलाई विवाहको पिँजडामा कैद गर्न चाहन्नँ । तिमी स्वतन्त्र प्रेमकी चरी हौ, चाहेको बेला मेरो डेरामा स्वतन्त्र रुपमा विचरण गर्न सक्छौ । चाहेको बेला भुर्र उड्न सक्छौ । तिमीलाई म कैद गर्न सक्दिनँ प्रिये, मलाई पनि कैद गर्ने प्रयास नगर ।

तिम्रो अश्विनी

***

डियर सर,

जति-जति समय बित्दै जान्छ, हजुरका कुरामा डर लाग्दै जान्छ । प्रेमालयमा प्रवेश गरेयता जब प्रेमका गम्भीर सिद्धान्त पढ्न थालें, म झन् झन् गल्न थालें ।

यहाँ प्रत्येक दिन प्रेमका परिभाषा परिवर्तन भइरहेका छन् । हिजो जे कुरा पढाइएको थियो, आज त्यो गलत पनि हुन सक्छ भनेर शंका गर्न सिकाइसिन्छ । यो कस्तो कलेज हो हजुर ?

प्रेमको विषयमा थाहा नभएका हजारौं मानिसझैं म अन्धकारमै ठीक थिएँ, यहाँ ल्याएर मलाई कहाँ फसाइस्यो ? आजभोलि न त म खुलेर सहजसँग प्रेम गर्न सक्छु, न त हजुरसँग खुलेर जीवन बिताउन सक्छु ।

एकातिर मलाई सहजको कोमल हृदय याद आउँछ । उसको निश्चल प्रेमले तानिरहन्छ । ऊसँग समय बिताउन खोज्छु तर जसै उसको नजिक उसको भावनामा डुब्न खोज्छु, हजुरको यादले सताउन थाल्छ । म किन आफूभन्दा माथि उठ्न सकिरहेेकी छैन, मलाई दुई जनाकै प्रेममा डुबुल्की मार्न के ले रोकिरहेको छ ?

‘मानिस स्वभावले नै बहुप्रेमि प्राणी हो । ऊ एउटा मानिसको प्रेमबाट मात्र सन्तुष्ट हुन सक्दैन ।’ हजुरको यो सिद्धान्त वास्तवमै सही हो । म हजुरबाट अलग हुन चाहन्नँ तर सहजलाई पनि गुमाउन सक्दिनँ ।

उसको प्रेममा एउटा आकर्षण छ । उसलाई म हेप्न सक्छु, गाली गर्न सक्छु र माया पनि गर्न सक्छु । तर, हजुरमा झैं प्रेमको उचाइमा बसेर संसारलाई हेर्ने दृष्टि सहजमा छैन । ऊसँग बस्दा मलाई हजुरको उचाइ चाहिन्छ । हजुरसँग हुँदा उसले परैबाट आँखाभरि माया गरेको दृष्य याद आउँछ ।

म दुवैतिर पूर्ण रुपमा किन अघाउन सकिरहेकी छैन ? म समाजको परम्परागत धारणाको शिकार भइरहेकी छु । काठमाडौंको सुविधासम्पन्न र पढेलेखेका परिवारमा जन्मे हुर्केकी मजस्ती केटीको यो अवस्था छ भने आम युवतीहरु कसरी प्रेममा बाँचिरहेका छन् ?

के हामी सबै प्रेमको वास्तविक स्वाद थाहा नपाइ मर्छौं ? यो अवस्थाबाट पार हुने कुनै उपाय छैन ?

सहज सामान्य प्रेमि होइन, उसले मलाई हृदयदेखि नै माया गर्छ । उसले मसँग सेक्सुअल रिलेसन राख्न अस्वीकार गर्‍यो । यसले उसको प्रेममा म अझै गहिरिएकी छु । तर, हजुरसँगको प्रेम पचाउन उसलाई गाह्रो भइरहेको छ ।

यो कुरा पनि मलाई बेला-बेलामा महशुस हुन्छ । चितवनबाट फर्किएपछि उसको व्यवहार निरन्तर परिवर्तन भइरहेको छ । तर, झन् गहिरिएर माया गर्न थालेको छ ।

केही दिनअघि मैले एउटा अंग्रेजी सस्पेन्स थि्रलर फिल्म हेरेकी थिएँ । त्यसमा एउटा प्रहरी अपराधीको नजिक पुगेको महशुस गर्छ तर जसलाई उसले अपराधी ठानेको हुन्छ, ऊ पूर्ण रुपमा निर्दोष हुन्छ । उसको अनुसन्धान अधुरै हुन्छ । आजभोलि म त्यस्तै भएकी छु ।

प्रेमका नयाँ-नयाँ रुप मेराअघि आइरहेका छन्, त्यो नै प्रेम हो भन्ने लाग्छ तर तुरुन्तै त्यो परिभाषा परिवर्तन हुन्छ । मेरो अवस्था जस्तै सहजको पनि होला । म उसको छटपटी बुझ्छु तर खुलेर केही भन्न सकिरहेको छैन । यो प्रेमको अन्त्य कस्तो होला, मेरो प्यारो मान्छे, यसको अन्त्य कस्तो होला, म छक्क पर्दैछु ।

खासमा, मलाई सहजसँग जीवन बिताउने मन छ । तर, ऊसँग खुलेर सेक्सुअल सम्बन्ध राख्न सक्छु भन्ने लाग्दैन । खासमा, म हजुरको सन्तान जन्माउन चाहन्छु तर जीवन ऊसँग खुला आकाशमूनि बिताउन चाहन्छु । यस्तो सोचाइ आउँदा कतै म पागल हुन लागिरहेकी त छैन भन्ने लागिरहन्छ । अब यो प्रेमले एउटा निर्णायक मोड लिनुपर्छ । यसको जिम्मा हजुरलाई छाड्न चाहन्छु ।

-हजुरकी गुराँस                                               @ onlinekhabar

फेसबूक