प्रथम गोरख भेट्रान्स फुटबल कप

समालबुङ, (इलाम) । 'नो टु ड्रग्स' भन्ने सन्देश दिन गोरख टोल विकास संस्था समालबुङ, इलामले आयोजना गरेको प्रथम गोरख भेट्रान्स कप फुटबल प्रतियोगितामा आयोजक, इलाम, फिक्कल र दमक विजयी भएका छन् ।

सूर्योदय नगरपालिका ५ समालबुङस्थित गोरखमा आजदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गोरख भेट्रान्स टिमले दिपेन्द्र शिखर भेट्रान्सलाई ५-१ गोलअन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

आयोजकका लागि दिपेन राईले पहिलो ह्याट्रिक पूरा गरे भने कृष्ण राईको नाममा २ गोल रह्यो । यस्तै, दिपेन्द्र शिखरका लागि हरि राईले सान्त्वना गोल फर्काएका थिए ।

दोस्रो क्वाटरफाइनल खेलमा इलाम भेट्रान्स फुटबल क्लबले ग्रीन स्टार भेट्रान्स सूर्योदयलाई ३-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो । इलामका लागि अनुभवी खेलाडी दर्शन भक्तराजले २ गोल गरे भने सुरुवाती गोल राजु थापामगरले गरेका थिए । ग्रीन स्टारका लागि कृष्ण लाबुङले गोल फर्काए ।

तेस्रो क्वाटरफाइनल खेलमा दमक लखनपुर भेट्रान फुटबल क्लबले कठिन जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । स्पर्धी भारतको युएफसी बुङकुलुङमाथि १-० गोलको कठिन जित निकालेको हो । दमकको जितमा दिपेन गिरीले गरेको गोल नै निर्णायक बनेको थियो ।

यसैगरी, अन्तिम क्वाटरफाइनल खेलमा एमसीसी फिक्कल भेट्रान फुटबल क्लब विजयीहुँदै सेमिफाइनलमा पुगेको छ । पाँचथर भेट्रान्स क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै फिक्कलले बाजी मारेको हो ।

फिक्कलका लागि सुजन राईले २ गोल गरे भने धिरज ठकुरीले सुरुवाती गोल गरेर अग्रता दिलाएका थिए । यस्तै, पाँचथरका लागि विशाल राईले पेनाल्टीमार्फत गोल गरेका थिए ।

२ दिनसम्म चल्ने सेभेन साइड प्रतियोगिताको विजेताले ४० र उपविजेताले २० हजार नगदसहित आकर्षक ट्रफी पाउने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कृत गरिने आयोजक समितिका सचिव विकास तामाङले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै