इलामको विनोद राई भ्वाइस अफ नेपाल सिजन ५ को विजेता

इलाम : इलाम फाकफोकथुम-५ का विनोद राई ‘द भ्वाइस अफ नेपाल’को पाँचौ सिजनका विजेता बनेका छन् । आज शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा विजेता बन्दै उनले नगद २० लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।

उनले टिम मिलनबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट मक्कर योन्जन फस्ट रनरअप घोषित भए । टिम उदयबाट कुमार प्रयास राई सेकेण्ड रनरअप घोषित भए । टिम प्रमोदबाट नोगेन हाङसरुम्बा लिम्बू थर्ड रनरअप बने । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल लगायतका अतिथिले विजेतालाई पुरस्कार प्रदान गरे ।

तीन हजार दर्शक अटाउने गोदावरीको खचाखच सनराइज हलमा तीन घण्टा लामो ग्राण्ड फिनाले चलेको थियो । फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिए ।

भ्वाइसको पाँचौ सिजनका अन्तिम १२ का प्रतिस्पर्धीसहित हिमालय लोकस्टारका जजले पनि सांगीतिक प्रस्तुति दिए । कोच र फाइनलिस्टले प्रस्तुति दिँदा फिनालेको माहोल रोमाञ्चक बनेको थियो ।

चर्चित लोक तथा दोहोरी गायक राजु परियार र बद्री पँगेनीले पनि प्रस्तुति दिए । भ्वाइसको पहिलो सिजनका विजेता सीडी विजय अधिकारीले आफ्नो हिट गीत ‘दूरी मजबूरी’ गाएर दर्शकलाई जुरुक जुरुक पारे ।

ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसारण हिमालय टिभी एचडी र भ्वाइस अफ नेपालको युट्युव च्यानलबाट गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै